१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्यताका साथ सम्पन्न, विशिष्ट गीतकार यादव खरेललाई दीर्घ साधना सम्मान
१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ शुक्रबार काठमाडौंको तिलगंगास्थित बेस्ट वेस्र्टन प्लस होटलमा भव्य रूपमा सम्पन्न भएको छ। संगीतकर्मीहरूका लागि विशेष चासोको विषय बन्ने गरेको यस अवार्ड समारोह म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको कार्यक्रममा विशिष्ट गीतकार तथा निर्देशक यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ अर्पण गरिएको थियो। सम्मान स्वरूप खरेललाई ५१ हजार नगद, दोसल्ला, र सम्मानपत्र प्रदान गरिएको हो। उनलाई सम्मान गर्न प्रमुख अतिथि पाण्डेसहित गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, र कार्यक्रम संयोजक सबिता पोखरेल सहभागी भएका थिए।
अवार्डका अध्यक्ष सुमन पण्डितले कार्यक्रममा सबै स्रष्टा कलाकार, अतिथि र सहभागीहरूलाई स्वागत गर्दै अवार्डले नेपाली संगीत क्षेत्रको प्रबर्द्धनमा टेवा पु¥याएको बताउँदै सम्पूर्ण कलाकार समुदायको सक्रियता आवश्यक रहेको बताए। उनले म्यूजिक खबरको ‘कल्चर फर टुरिजम’ अभियानलाई निरन्तरता दिँदै अवार्डलाई अझ सम्मानित बनाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान दिने स्रष्टाहरूलाई अवार्ड प्रदान गरिएको थियो।
प्रमुख विजेता र सम्मानित व्यक्तित्वहरू यस प्रकार रहेका छन्:
प्रमुख अवार्ड विजेता सूची:
- सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार – रुपेश थापा (‘तिमीबिना चल्दैन’)
- सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादन – रबिन बिक (‘लामपाते सुरती’)
- सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल (पुरुष/महिला) – विनोद श्रेष्ठ र उषा सुवेदी (‘विदाई’)
- सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक – शान थापा (‘छुनै हुन्न जस्तो’)
- पपुलर गायिका अफ दि इयर – एलिना चौहान (‘तिमीबिना चल्दैन’)
- जुरी अवार्ड – गीतकार – भुपेन्द्र बुढाथोकी (‘भाग्य लेख्ने भगवान’)
- जुरी अवार्ड – संगीतकार – केशव पौडेल (‘पागल’)
- सर्वोत्कृष्ट गायक डायस्पोरा – दिपेन्द्र आले (‘ढल्केबरैमा’)
- जुरी अवार्ड – गायक – सुरज पण्डित (‘जति टाले पनि’)
- सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर – शम्भू पुरी
कार्यक्रममा प्रमुख अतिथि मन्त्री बद्रीप्रसाद पाण्डेले म्यूजिक खबर टिमले १२ वर्षदेखि गरेको योगदानको सराहना गर्दै कला र पर्यटनको समायोजन अत्यन्त प्रेरणादायी रहेको बताए। उनले सरकारले गर्न नसकेको काम म्यूजिक खबरले सफलतापूर्वक गरिरहेको भन्दै धन्यवाद प्रकट गरे।
यस अवार्ड कार्यक्रमले संगीत क्षेत्रमा क्रियाशील कलाकारहरूलाई हौसला प्रदान गर्नुका साथै नयाँ पुस्तालाई प्रेरणा दिएको आयोजकहरूको भनाइ छ।
