शतकोण आर्ट्सको नयाँ चलचित्र ‘लालिबजार’ मा स्वस्तिमा खड्का मुख्य भूमिकामा, पोस्टर सार्वजनिक

चर्चित अभिनेत्री स्वस्तिमा खड्का शतकोण आर्ट्सको नयाँ चलचित्र ‘लालिबजार’ मा मुख्य भूमिकामा देखिने भएकी छन्। जात्रा, जत्रै जात्रा, महापुरुषमहाजात्रा जस्ता चर्चित हिट फिल्महरू निर्माण गरेको शतकोण आर्ट्सले यस नयाँ प्रोजेक्टको पोस्टर सार्वजनिक गर्दै फाल्गुन १ गतेलाई रिलिज मिति घोषणा गरेको छ।

सार्वजनिक पोस्टरमा स्वस्तिमा एक गर्भवती महिलाको भूमिकामा प्रस्तुत भएकी छन्। तर उनको हाउभाउ, हेराइ र समग्र उपस्थितिले एउटा गहिरो अन्तर्द्वन्द्व झल्काउँछ—जसले कथाको गहिराई र पात्रको जटिलता प्रस्ट पार्छ। यो कुनै साधारण कथानक नभई सामाजिक र व्यक्तिगत संघर्ष समेटिएको एक मनोवैज्ञानिक कथा हुन सक्ने संकेत मिल्छ।

“यो फिल्ममा दर्शकहरूले एकदमै फरक स्वस्तिमा देख्नेछन्,” अभिनेत्री खड्काले भनिन्। “पोस्टरले नै धेरै कुरा बोलिरहेको छ। यस्तो भूमिकालाई जिउँदो बनाउनु मेरो लागि निकै उत्साहजनक अवसर हो।”

चलचित्रको लेखन तथा निर्देशन याम थापाले गरेका हुन्, जो केही समयको विश्रामपछि पुन: निर्देशनमा फर्किँदै छन्। रविन्द्र सिंह बानियाँम्याक्स दिपेश खत्री निर्माता रहेका छन् भने प्रदीप भट्टराई कार्यकारी निर्माता (Executive Producer) को रूपमा रहेका छन्।

निर्माता बानियाँका अनुसार, शतकोण आर्ट्सले नयाँ स्क्रिप्टको खोजी गर्दै गर्दा याम थापाको कथा मन परेपछि उनलाई नै निर्देशन गर्न आग्रह गरिएको थियो। “हामी धेरै लेखक तथा निर्देशकहरूसँग कुराकानी गरिरहेका थियौं। याम थापाको स्क्रिप्ट विशेष लाग्यो। उनले स्क्रिप्ट मात्र दिएका थिए, तर हामीले उनी स्वयंले निर्देशन गर्नुपर्ने प्रस्ताव राख्यौं,” बानियाँले भने।

निर्देशक याम थापा भन्छन्, “यो प्रोजेक्ट मेरो लागि अवसर पनि हो, चुनौती पनि। निर्देशक प्रदीप भट्टराईसँगको भेटपछि मैले शतकोण टिमसँग आइडिया शेयर गरेँ, जुन तुरुन्तै मन पर्यो। अब यो फिल्म मेरो नयाँ अध्याय बन्नेछ भन्ने विश्वास छ।”

पोस्टरको फोटोग्राफी केशव पाण्डेले गरेका हुन् भने डिजाइन रॉयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) द्वारा गरिएको हो।

चलचित्रको छायांकन आगामी दशैँ पछी सुरु हुने तयारीमा छ।

‘लालिबजार’ शतकोण आर्ट्सको पाँचौं एकल निर्माण हुनेछ। यसअघि कम्पनीले तुल्काजंग भर्सेस तुल्के, डाकिनी, सुपर मंक जस्ता चलचित्रहरूमा सहकार्य पनि गरिसकेको छ।

शतकोण आर्ट्सले नेपाली चलचित्र क्षेत्रमा यथार्थमा आधारित कथावाचन र सांस्कृतिक झल्को दिने प्रस्तुति मार्फत दर्शकको मन जित्दै आएको छ। अब ‘लालिबजार’ले पनि एक फरक प्रस्तुति, गहिरो महिला पात्र, र सोच्न बाध्य पार्ने कथासँगै नयाँ तहमा पुग्ने अपेक्षा गरिएको छ।

Leave A Comment

All fields marked with an asterisk (*) are required